धादिङ बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन


काठमाडौं– धादिङमा भएको भीषण बस दुर्घटनाको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। दुर्घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सोमबार गृह मन्त्रालयमा सरोकारवाला निकायबीच उच्चस्तरीय छलफल भएको हो।

गृहमन्त्री ओम प्रकाशको उपस्थितिमा भएको छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलका प्रमुखहरू तथा अन्य सरोकारवाला निकाय सहभागी थिए। छलफलपछि दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। आइतबार साँझ पोखराबाट काठमाडौँका लागि छुटेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस राति करिब १ बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेको थियो।

दुर्घटनामा घाइते भएकाहरूको धादिङ र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये हालसम्म ९ जनाको सनाखत भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा एक जना विदेशी नागरिकसहित ९ जना रहेका छन्। ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, कास्कीको पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौँ नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्।

त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौँको बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल तथा पाल्पाको तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ।

सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्। बाँकी मृतकहरूको पहिचानका लागि आवश्यक प्रक्रिया जारी रहेको प्रहरीको भनाइ छ।

दुर्घटनाको कारण, बसको अवस्था, चालकको भूमिका तथा सडक सुरक्षासम्बन्धी विषयमा छानबिन समितिले विस्तृत अध्ययन गर्ने जनाइएको छ।

प्रतिक्रिया