
फागुन २१ को निर्वाचन हुन नदिने तत्त्व सक्रिय: कांग्रेस
काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन हुन नदिन केही तत्त्वहरू सक्रिय रहेको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले समयमै निर्वाचन सम्पन्न गराउन सरकार दृढ हुनुपर्ने स्पष्ट धारणा राखेको हो।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मताधिकार नै भएको बताए। निर्वाचन अवरुद्ध गर्ने प्रयासहरूलाई असफल पार्दै संविधानअनुसार समयमै निर्वाचन गराउनु सरकारको दायित्व भएको कांग्रेसको भनाइ छ।
प्रवक्ता चालिसेले भने, “निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू सक्रिय छन्। सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ। लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो र लोकतान्त्रिक पार्टीहरूले जन सर्वोच्चतालाई स्वीकार्नुपर्छ।”
यसैगरी कांग्रेसले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ। जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकार मौलिक र नैसर्गिक अधिकार भएको उल्लेख गर्दै कांग्रेसले यस विषयमा कुनै पनि सम्झौता स्वीकार्य नहुने जनाएको छ।



कागजपत्र |
