विरोधका बावजुत सुवेदीलाई सर्वोच्चमा जाने बाटो खुल्यो, समितिबाट अनुमोदन हुने पक्का


काठमाडाैं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीको योग्यतालाई लिएर दायर रिट खारेज गर्ने फैसला सुनाएका हुन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको भन्दै न्यायपरिषद्लाई विपक्षी बनाइ निर्णय बदरको माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए।  उनको अनुभव नपुग्ने भण्डारीको दाबी थियो । अदालतले भने सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशमा रहेर काम गरेको र दुवै पदमा रहेर गरेको अवधि जोड्दा संविधानअनुसार सर्वोच्चको न्यायाधीश बन्ने योग्यता पुग्ने फैसला सुनाएको हो ।

न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई फागुन २८ गते न्यायाधीशका लागि सिफारिस गरेको थियो। सुवेदीको सिफारिसको चर्को विरोध भइरहेको छ। सर्वोच्च अदालत बार एशोसियसनले नै पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो।

संसदीय सुनुवाइ विशेष समितिमा पनि ५ वटा उजुरी परेका छन्। न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीशद्वय कुमार चुडाल र सुवेदीको सुनुवाइ वैशाख ३ गते हुँदैछ। अदालतले रिट खारेज गरेसँगै सुनुवाइ समितिबाट अनुमोदन हुने पक्काजस्तै भएको छ।

 

प्रतिक्रिया