
बागमती सफाइ अभियान : तैरिने फोहोर रोक्न नयाँ प्रविधि
काठमाडौं- शहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका विभिन्न नदी क्षेत्रमा तैरिने फोहोर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ। यसका लागि करिब ६५ लाख रुपैयाँ खर्च गरिएको जनाएको छ।
गत साउन २ गते सम्झौता गरी उपत्यकाका ६ स्थानमा यस्ता बेरियर राखिएको हो। गोकर्ण ब्यारेजभन्दा माथिल्लो भाग, गुहेश्वरी क्षेत्र, पशुपतिनाथ मन्दिरभन्दा तल तिलगंगामा, मनोहरा–बागमती दोभान, यूएन पार्क क्षेत्र र बालकुमारीस्थित कर्मनाशा खोला मिसिने स्थानमा बेरियर जडान गरिएको छ।
आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिँदै आउने प्लास्टिक, बोतल, काठका टुक्रा, फोमलगायतका फोहोरलाई रोकेर एकै स्थानमा जम्मा गर्छ, जसले संकलन कार्यलाई सहज बनाउँछ। यो कार्यक्रम हाल परीक्षणका रूपमा सुरु गरिएको हो।
आगामी बर्खा मौसममा यसको प्रभावकारिता मूल्याङ्कन गरी थप स्थानमा विस्तार गर्ने विषयमा निर्णय गरिने नेपालले जानकारी दिए।



कागजपत्र |
