
स्थिर सरकार ढाल्न नसकेपछि सडकबाट प्रणालीमाथि आक्रमण गरियो: ओली
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएका घटनाहरू नेपालको संविधान, वर्तमान व्यवस्था र राष्ट्रिय सार्वभौमसत्ताविरुद्ध गरिएको योजनाबद्ध प्रहार भएको आरोप लगाएका छन्।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले देश विवेक र आवेगको गम्भीर दोबाटोमा उभिएको टिप्पणी गरे। उनले मुलुकमा ‘भत्काउने’ र ‘बनाउने’ दुई विपरीत सोचबीच तीव्र द्वन्द्व चलिरहेको उल्लेख गर्दै नेपाललाई फेरि प्रयोगशालाका रूपमा प्रयोग गर्न खोजिएकोप्रति सचेत गराए।
अध्यक्ष ओलीले भदौ २३ को प्रदर्शनमा सुनियोजित घुसपैठ भएको गम्भीर आरोप लगाउँदै शान्तिपूर्ण रूपमा घर फर्किन लागेका युवाहरूलाई योजनाबद्ध रूपमा निषेधित क्षेत्रतर्फ धकेलिएको दाबी गरे। त्यसैका कारण हिंसा भड्काइएको र संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकमार्फतै राजनीतिक प्रणालीमाथि आक्रमण गर्ने उद्देश्यले ती घटनाहरू घटाइएको उनको जिकिर थियो।
राजनीतिक अस्थिरतालाई देश विकासको सबैभन्दा ठूलो बाधकका रूपमा चित्रण गर्दै उनले ठूला दलहरूबीचको सहकार्य संकट सिर्जना गर्न नभई अस्थिरता रोक्न र व्यवस्था जोगाउनका लागि भएको स्पष्ट पारे।
कार्यक्रममा अध्यक्ष ओलीले भदौ २३ का घटनासँग जोडिएका केही गम्भीर प्रश्नहरू पनि उठाए। उनले भदौ २३ अघि देश साँच्चिकै बिग्रँदै गएको थियो कि आक्रोश फैलाउन काल्पनिक भाष्य निर्माण गरिएको थियो भन्ने प्रश्न गर्दै घटनाहरूको प्रकृतिमाथि संशय व्यक्त गरे।
उनका अनुसार निजी सम्पत्ति, व्यवसाय र सुरक्षाकर्मीमाथि भएको आक्रमण स्वतःस्फूर्त नभई योजनाबद्ध थियो। साथै, प्रदर्शनकारीहरूका स्पष्ट माग नै नहुँदाहुँदै प्रतिनिधि सभा विघटन जस्तो गम्भीर कदम चालिनु रहस्यमय भएको उनको भनाइ थियो। यी प्रश्नहरू कुनै ‘कन्सपिरेसी थ्योरी’ नभई संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न खोजिनै पर्ने अनिवार्य जिज्ञासा भएको उनले बताए।
अन्त्यमा अध्यक्ष ओलीले विकास, सुशासन र निर्माणको स्पष्ट ट्र्याक रेकर्ड एमालेसँग मात्रै रहेको दाबी गर्दै ध्वस्त भएका संरचनाको पुनर्निर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब पार्टीकै काँधमा आएको जिकिर गरे।



कागजपत्र |
