२०४७ पछिका सबै नेतामाथि भ्रष्टाचार छानबिन हुन्छ: गगन थापा


काठमाडौं-  नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने स्पष्ट लक्ष्यसहित कांग्रेस अघि बढेको बताएका छन्। भ्रष्टाचारमा संलग्न जो–कोही भए पनि पार्टीले नाता, सम्बन्ध वा पद नहेरी कडाइका साथ कारबाही गर्ने उनको दाबी छ।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ शीर्षकको कांग्रेस प्रतिज्ञापत्र सार्वजनिक तथा सवाल–जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने घोषणा गरे। उनले कांग्रेसले घोषणापत्र नभई ‘प्रतिज्ञापत्र’ नाम दिएर जनतासँग प्रत्यक्ष प्रतिबद्धता गरेको बताए।

कांग्रेसले बुधबार जनकपुरधाममा आयोजना गरेको प्रतिज्ञासभामार्फत प्रतिज्ञापत्रका मुख्य बुँदा सार्वजनिक गरिसकेको उल्लेख गर्दै सभापति थापाले बिहीबार विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरिएको जानकारी दिए।

कार्यक्रममा बोल्दै उनले भने, “कांग्रेसले यी कुरा गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन। सभापति होस् वा कुनै पनि सार्वजनिक पदमा बसेको व्यक्ति, यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार हुँदैन।”

सभापति थापाले २०४७ सालपछि जुनसुकै पार्टीसँग आबद्ध रहेका नेतामाथि पनि निष्पक्ष रूपमा भ्रष्टाचार छानबिन गरिने स्पष्ट पारे। उनका अनुसार विगतका गल्ती ढाकछोप गर्ने होइन, सुधार गर्ने साहस कांग्रेसले गर्नेछ।

उनले अब सेवा प्रवाहको केन्द्र कार्यालय होइन, नागरिक हुनुपर्ने धारणा राखे। नागरिकले कुन सेवा कति समयमा पाउने हो भन्ने कुरा स्पष्ट रूपमा तोकिने र सो समयभित्र सेवा नपाए क्षतिपूर्ति पाउने व्यवस्था गरिने उनको भनाइ थियो।

“सार्वजनिक सेवामा कुनै काम एक दिनमै हुन्छ भनियो भने त्यो एकै दिनमै हुनुपर्छ। एक घण्टामा सेवा पाइने भनियो भने एक घण्टामै सेवा उपलब्ध हुनुपर्छ,” सभापति थापाले भने, “यसका लागि प्रविधिको अधिकतम प्रयोग, आवश्यक कानुन संशोधन, भौतिक पूर्वाधार विस्तार र नागरिकको घरमै सेवा पुर्‍याउने प्रणाली विकास गरिनेछ।”

सभापति थापाले कांग्रेसले डिजिटल सार्वजनिक सेवालाई सातै दिन, २४ सै घण्टा उपलब्ध गराउने, सेवामा ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति दिने लगायतका व्यवस्था योजनाबद्ध रूपमा अघि सारेको बताए।

प्रतिक्रिया