
फागुन ३ देखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुने
काठमाडौं- आगामी फागुन ३ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ। निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेसँगै सो मितिबाट कार्यक्रम कार्यान्वयनमा जाने भएको हो।
आयोगका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ। कार्यक्रमको मुख्य उद्देश्य आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्दै जिम्मेवार तथा सचेत मतदान संस्कृतिको विकास गर्नु रहेको निर्वाचन आयोगले जनाएको छ।
मतदाता शिक्षा कार्यक्रममार्फत मतदान प्रक्रियामा आम नागरिकको सहभागिता अभिवृद्धि गर्ने र बदर मतको संख्या न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ। यसका लागि आम सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा स्वयंसेवक परिचालन गरिने आयोगले जानकारी दिएको छ।
देशभरका नगरपालिका तथा गाउँपालिकाअन्तर्गत रहेका ६ हजार ७४३ वडामा फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन्।
स्वयंसेवकहरूले मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत र भ्रामक सूचनाबाट बच्ने उपायहरूबारे मतदातालाई जानकारी गराउनेछन्।



कागजपत्र |
