टी–२० विश्वकपमा इटालीलाई ठूलो धक्का, कप्तान म्याड्सेन घाइते


काठमाडौं-  जारी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको इटालीलाई ठूलो झट्का लागेको छ। स्कटल्याण्डविरुद्धको जारी खेलका क्रममा इटालीका कप्तान वेन म्याड्सेन काँधको चोटका कारण मैदान बाहिरिएका छन्।

इडेन गार्डेन्समा स्कटल्याण्डको इनिङ्सको चौथो ओभरमा फिल्डिङ गर्दै गर्दा म्याड्सेनको बाँया काँध डिसलोकेट भएको बताइएको छ। चोट लागेपछि उनलाई तत्काल चिकित्सकीय उपचारका लागि मैदानबाट बाहिर लगिएको थियो भने थप परीक्षणका लागि एक्स–रे गर्न अस्पताल लगिएको जनाइएको छ।

४२ वर्षीय म्याड्सेन इटाली टोलीका सबैभन्दा अनुभवी खेलाडी मानिन्छन्। कप्तान म्याड्सेन मैदानबाट बाहिरिएपछि स्कटल्याण्डको इनिङ्सको बाँकी समय टोलीको नेतृत्व ह्यारी मानेन्टीले सम्हालेका छन्।

इटालीले अब टी–२० विश्वकपमा फेब्रुअरी १२ मा मुम्बईमा नेपालसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। त्यसपछि इटालीले इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजसँग पनि खेल खेल्ने कार्यक्रम छ।

प्रतिक्रिया