
निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा ‘द डेन्जरस स्कल’ समूहका २५ जना पक्राउ
सुर्खेत – सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ‘द डेन्जरस स्कल’ नामक समूहका २५ जना युवालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त समूहले स्थानीय प्रशासनको अनुमति नलिई कालो र सेतो रङका झण्डा बोकेर मोटरसाइकल र्याली निकालेको थियो। र्यालीका क्रममा होहल्ला भएको र सार्वजनिक शान्ति भङ्ग हुने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै तीनकुने चोकबाट शनिबार दिउँसो करिब २:५० बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले निर्वाचनको समयमा शान्ति सुरक्षा चुनौती हुनेगरी बिना अनुमति र्याली निकाल्ने तथा आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएको छ। हाल नियन्त्रणमा लिइएका २५ जनामाथि थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
