
बलात्कार आरोपमा फरार पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ
काठमाडौं- बलात्कार आरोपमा फरार रहेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाएको छ।
जाजरकोटकी एक युवतीले ठगुन्नाविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दर्ता गराएकी थिइन्। न्यायको माग गर्दै पीडित युवती गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा अनशन बस्दै आएकी थिइन्।
भुपेन्द्र दार्चुला नौगाड गाउँपालिका- २ सुन्डमुन्ड घर भई काठमाण्डौं रामशाहपथ बस्दै आएका थिए । जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएपछि ठगुन्ना फरार भएका थिए। प्रहरीले उनलाई फरार अवस्थामै भारतबाट पक्राउ गरेको जनाएको छ।
यता, कार्यालयमा हाजिर नभएको कारण कोशी प्रदेश प्रहरी कार्यालयले ठगुन्नालाई गत कात्तिकमै सेवाबाट हटाइसकेको थियो। अब उनलाई नेपाल ल्याएर थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।



कागजपत्र |
