बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ


काठमाडौं-  वैदेशिक रोजगारीको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोटको तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने ३६ वर्षीया कुमारी तामाङमाथि बेलायत पठाइदिन्छु भनी दुई जना पीडितबाट ७ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले पीडितहरूलाई लामो समयसम्म झुक्याइरहेकी थिइन्। विदेश नपठाई रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए, जसको आधारमा प्रहरीले उनलाई खोजी सुरु गरेको थियो।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई माघ २१ गते काठमाडौं महानगरपालिका वडा नं. १२ बाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेकी तामाङलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया