
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह
काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।
निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ पुगेका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिए ।
अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन पुगेका थिए ।
अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।
अर्थमन्त्री खनालले निर्वाचनमा स्रोत अभाव नहुने बताए। “निर्वाचन सफल बनाउन् सबैको कर्तव्य हो, सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयन गर्नु/गराउनु हाम्रो दायित्व हो”, उनले भने, “सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन । केही समस्या भए तुरुन्तै जानकारी भएमा समाधान हुनेछ, यसका लागि आपसी समन्वय र सहकार्य आवश्यक छ । नागरिकले मतदान सहज वातावरणमा गर्नुपर्यो ।”



कागजपत्र |
