
कुलमान, महावीर, जगदीश र बब्लुबारे प्रधानमन्त्री कार्कीले खोलिन् मुख
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारका मन्त्रीहरू पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएको विषयमा स्पष्ट पार्दै त्यसमा कुनै बेइमानी नरहेको दाबी गरेकी छन् । सोमबार राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ताको बचाउ गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीका अनुसार ती सबै व्यक्ति मन्त्री बन्नुअघि नै राजनीतिमा प्रवेश गर्ने चाहना व्यक्त गरिसकेका थिए । जेन–जीको दबाबका कारण उनीहरूलाई मन्त्रिपरिषद्मा समेटिएको र राजनीति गर्ने निर्णय गरेकै दिन पदबाट बिदा गरेर पठाइएको उनको भनाइ छ ।
‘जेनजीका मानिसहरूले मन्त्रीमा ल्याउनुपर्छ भनेर हामीमाथि ठूलो प्रेसर थियो । त्यसमा महावीर पुन, कुलमान घिसिङहरूको नाम प्रस्ताव आयो । हामीले मान्नुपर्ने अवस्था पनि थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘धेरै नाम आएका थिए, त्यसमध्ये केहीलाई मन्त्रिपरिषदमा ल्यायौँ । त्यो बेला कतिपय मन्त्री हुन मान्नुभएको पनि थिएन । तर जेनजीको प्रेसर कुलमान, महावीर, जगदीशलाई लिनैपर्छ भन्ने थियो ।’
प्रधानमन्त्री कार्कीले आफूले नै हात जोडेर उनीहरूलाई मन्त्री बन्न आग्रह गरेको खुलासा पनि गरिन् । ‘जेनजीको प्रेसर छ, जतिदिन बस्नुहुन्छ बसिदिनुस् भनेर मैले नै आग्रह गरेकी हुँ,’ उनले भनिन्, ‘बब्लु गुप्ता भन्ने नाम पनि जेनजीबाटै आएको हो । यिनीहरू लोकप्रिय मानिस हुन् र राजनीतिमा जान्छन् भन्ने हामीलाई थाहा थियो ।’
उनका अनुसार, सरकारमा बसेरै चुनाव लड्नु बेइमानी हुने भएकाले राजनीतिमा जाने निर्णय गरेकै दिन राजीनामा दिएर जान सर्त राखिएको थियो । ‘जुन दिन राजनीतिमा जानुहुन्छ, त्यो दिन राजीनामा दिनुहोला, हामी विदाइ गरिदिन्छौँ भनेका थियौँ,’ उनले स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले महावीर पुनलाई सुदन गुरुङले अँगालो हालेर सरकारमा ल्याएको उल्लेख गर्दै पुन पछि रिसाएर सरकारबाट बाहिरिएको पनि बताइन् । महावीर पुनले दुई–चारवटा कानुन बनाउन माग गरे पनि त्यसलाई तत्काल पूरा गर्न नसकिएको उनको भनाइ छ ।
कुलमान घिसिङले उज्यालो नेपाल पार्टी स्थापना गरी चुनाव लडिरहेका छन् भने महावीर पुन स्वतन्त्र उम्मेदवार छन् । जगदीश खरेल र बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी उम्मेदवार बनेका छन् । मन्त्रीहरू सबै एउटै पार्टीमा नगएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अस्वाभाविक मान्न नहुने बताइन् ।
‘जगदीश र बब्लु युवा हुन् । उनीहरू चुनावमा जान पाउँदैनन् भन्ने मलाई लाग्दैन,’ उनले भनिन्, ‘उनीहरूले बेइमानी गरेका छैनन् । दोष लगाउनै हो भने मलाई लगाउनुस्, उनीहरूलाई होइन ।’
प्रधानमन्त्रीका अनुसार, ती मन्त्रीहरूले सरकारमा रहँदा कुनै लाभ लिएका छैनन् । ‘उनीहरूले त चिया खाएर मात्र काम गरेका छन्,’ उनले भनिन्, ‘अहिले उनीहरू सरकारसँग सम्पर्कमा छैनन्, कुनै माग गरेका छैनन् । आफ्नै बाटो हिँडेका छन् ।’



कागजपत्र |
