
भारतीयलाई नेपाली नागरिकता दिने कर्मचारीसहित ६ जनाविरुद्ध मुद्दा
दाङ– भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा कर्मचारीसहित ६ जनाविरुद्ध अख्तियारले मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई नागरिकता दिलाएको आरोपमा सोमबार दाङमा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सरकारी कागजातमा फर्जी हस्तक्षेप गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।
अख्तियारले मुद्दा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवास, राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, सोही वडाका तत्कालीन वडा सचिव राजेश कुमार कहार र कार्यालय सहायक मीना चौधरीविरुद्ध दायर गरेको छ। भारतीय नागरिक आलम जोल्हा र आएसा जोल्हालाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारको दाबी अनुसार, प्रतिवादीहरूले गैरनेपाली नागरिक आलम जोल्हालाई दिवंगत सनाउल्ला जोल्हाको छोरा देखाएर राजपुर गाउँपालिका–४ स्थायी ठेगानामा नागरिकताको प्रमाणपत्र दिलाउने प्रयास गरेका थिए। सनाउल्ला जोल्हा १५ वैशाख ०३८ मा मृत भएको भए पनि १५ वैशाख ०४१ मा मृत्यु भएको झुठो प्रमाणपत्र तयार गरिएको थियो। त्यसैगरी आलमको जन्मदर्ता २५ फागुन ०३९ मा तत्कालीन राजपुर गाविस–३ दुलैयामा भएको झुठो विवरणसहित बनाइएको पाइएछ।
नागरिकता प्रमाणपत्र र जन्मदर्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने व्यक्तिको स्थानीय पहिचान जाँच गर्नुपर्ने कानुनी प्रावधान उल्लङ्घन गर्दै प्रतिवादीहरूले सरकारी कागजातमा अनधिकृत संशोधन गरी स्वार्थ पूरा गरेको अख्तियारले जनाएको छ।
प्रतिवादी आएसा जोल्हाले आलमलाई आफ्नो सहोदर भाई भएको भनी झुठो विवरण दिएको र वडाध्यक्ष रामेश्वर अहिरले सिफारिस गरेको थियो। त्यसै सिफारिसको आधारमा इलाका प्रशासन कार्यालय लमहीका प्रेमबहादुर खवासले स्थानीय प्रहरीसँग जाँच नगरी र प्रमाणपत्रहरू पुष्टि नगरी नागरिकता दिएको दाबी अख्तियारले गरेको छ।



कागजपत्र |
