
कांग्रेस आफैं बदलिएको होइन, हामीले बदलेका हौं : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार चयन प्रक्रियामा केही त्रुटि र कमजोरी भएको स्वीकार गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। आगामी दिनमा भने उम्मेदवार छनोटको प्रक्रिया तलैबाट मतदानमार्फत हुने दाबी पनि उनले गरेका छन्।
केन्द्रीय कार्यसमिति बैठकपछि तथा सानेपास्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहणपछिको पहिलो सम्बोधनमा सभापति थापाले माघ ४ गते उम्मेदवार छनोट सुरु गरेर ६ गते दर्ता गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण चाहेर पनि समावेशी र सन्तुलित ढंगले उम्मेदवार चयन गर्न नसकिएको स्पष्ट पारे।
‘विशेष महाधिवेशनमा पेस गरिएको दस्ताबेजअनुसार उम्मेदवार छनोट गर्न सकिएन,’ थापाले भने, ‘२४ घण्टाभन्दा पनि कम समयमा निर्णय गर्नुपर्ने अवस्था आयो। यसले केही कमजोरी भए, त्यसको जिम्मेवारी म आफैं लिन्छु। अब अर्को पटक यस्तो हुँदैन।’
उनका अनुसार आकांक्षीहरूसँग पर्याप्त सल्लाह नगरी निर्णय गर्नुपरेको बाध्यताले पनि प्रक्रिया प्रभावित भएको थियो। व्यक्तिगत र संस्थागत रूपमा कमजोरी सच्याउने प्रतिबद्धता जनाउँदै उनले अहिले एकजुट भएर निर्वाचनमा होमिनुको विकल्प नरहेको बताए।
‘भएका कमजोरीमाथि फेरि छलफल गर्न सकिन्छ,’ उनले भने, ‘तर अहिले सबै नेता–कार्यकर्ता एकजुट भएर निर्वाचनमा जानुपर्छ।’
सभापति थापाले २०७९ सालको निर्वाचनमा करिब २७ लाख मत खसेको स्मरण गर्दै यसपटक कांग्रेसका लागि परिस्थिति अझ अनुकूल भएको दाबी गरे। विगतमा ‘कांग्रेस भएर रुखमा मात्रै मत माग्न आउनु’ भन्ने गुनासो आएको उल्लेख गर्दै उनले यसपटक १६५ वटै निर्वाचन क्षेत्रमा रुख चिन्हमा मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको बताए।
‘यो कांग्रेस आफैं बदलिएको होइन, हामीले कांग्रेस बदलेका हौं,’ थापाले भने, ‘बदलिएको कांग्रेसले देश बदल्छ भन्ने संकल्पका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको छ।’
उनले देश र राज्य ठीक ढंगले नचलेको भन्दै आम नागरिकमा ठूलो आक्रोश, सुशासनप्रतिको तीव्र चाहना र युवाहरूमा देशभित्रै अवसर खोज्ने अपेक्षा बढेको बताए। ‘भ्रष्टाचारको दलदलबाट नेपाल निस्कनुपर्छ भन्ने ठूलो छटपटी छ,’ उनले भने।
विशेष महाधिवेशन आफू वा पार्टी नेतृत्वको स्वार्थका लागि नभई नागरिकको आवाज सुनेर गरिएको थापाको भनाइ थियो। ‘सभापतिको कुर्सीमा बस्न सजिलो छ, तर जिम्मेवारी बहन गर्न अत्यन्तै चुनौतीपूर्ण छ,’ उनले भने।
थापाले कांग्रेसको कुनै पनि दलसँग दुष्मनी नरहेको उल्लेख गर्दै सहयात्री र प्रतिस्पर्धाको भावनासहित निष्पक्ष प्रतिस्पर्धामा विश्वास रहेको बताए। ‘हामी आफ्ना एजेन्डा राख्छौं, अरूको आलोचनामा समय खर्चिँदैनौं,’ उनले स्पष्ट पारे।
केन्द्रीय समितिले थापालाई फागुन २१ गते हुने निर्वाचनमा सभापतिको उम्मेदवारका रूपमा अघि बढाउने निर्णय सर्वसम्मत रूपमा लिएको जानकारी दिँदै उनले सर्लाही–४ बाट चुनाव लड्ने पनि बताए। उनले नेता–कार्यकर्तालाई अन्यत्रभन्दा आफ्नै क्षेत्रमा सक्रिय भएर चुनावी माहोल बनाउन आह्वान गरेका छन्।



कागजपत्र |
