मनाङमा एमाले र राप्रपा ‘ब्याक’ भएपछि कांग्रेसका गुरुङको जित निश्चित


मनाङ- मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन्। एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवारी दर्ता गराएका थिए भने अब दुवैजना चुनावी प्रतिस्पर्धाबाट बाहिरिने भएका छन्।

मनाङमा कुल पाँचजनाको उम्मेदवारी परेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले र राप्रपाबाट उम्मेदवारी फिर्ताको निवेदन प्राप्त भइसकेको छ। तर यससम्बन्धी औपचारिक निर्णय भने दिउँसो १ बजेपछि मात्रै हुने जनाइएको छ।

यसैबीच मनाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका व्यक्ति समयमै उपस्थित हुन नसक्दा उम्मेदवारी दर्ता नै गर्न नपाएको निर्वाचन कार्यालयले जनाएको छ।

मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ उम्मेदवार बनेका छन्। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका व्यक्ति हुन्। निर्वाचनको समयमा झडप तथा अप्रिय घटना हुन सक्ने आशंकाबीच मनाङका लामा गुरुहरूले चुनावी सहमतिको पहल गरेका थिए।

त्यहाँका एक जनप्रतिनिधिका अनुसार बिहीबार प्रमुख दल कांग्रेस र एमालेका उम्मेदवारलाई बोलाएर लामा गुरुहरूको अगुवाइमा छलफल गरिएको थियो। छलफलका क्रममा दुवै दलका उम्मेदवार आ–आफ्नो अडानमा अडिग रहेपछि अन्ततः चिठ्ठामार्फत उम्मेदवार टुंगो लगाउने सहमति भएको थियो।

चिठ्ठामा कांग्रेसका टेकबहादुर गुरुङको नाम परेपछि उनी प्रतिनिधिसभाका उम्मेदवार बनेका हुन्। सहमतिअनुसार टेकबहादुर गुरुङ प्रतिनिधिसभामा उम्मेदवार बन्दा प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा भने कांग्रेसले एमालेलाई सघाउने समझदारी बनेको जनाइएको छ।

प्रतिक्रिया