माधव नेपालको उम्मेदवारीविरुद्धको उजुरी दरपीठ


काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट–१ बाट दर्ता गरिएको उम्मेदवारीविरुद्ध परेको उजुरी दरपीठ भएको छ।

पतञ्जली योगपीठको जग्गा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै बुधबार उनको उम्मेदवारी खारेजको मागसहित उजुरी परेको थियो। तर, उक्त उजुरी निर्वाचन अधिकृतको कार्यालयले दर्ता नगरी दरपीठ गरेको हो।

मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार मुद्दा विचाराधीन अवस्थामा रहेकै आधारमा उम्मेदवारलाई दोषी ठहर गर्न नमिल्ने कानुनी सिद्धान्तका कारण उजुरी दरपीठ गरिएको हो। साथै, निर्वाचनसम्बन्धी कानुनअनुसार नेपालको उम्मेदवारी वैधानिक रहेकाले उजुरी दर्ता हुन नसकेको उनले स्पष्ट पारे।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, रौतहटले पनि कानुनअनुसार उम्मेदवारी ठिक देखिएकाले उजुरी स्वीकार नगरिएको जानकारी दिएको छ।

प्रतिक्रिया