भक्तपुर-२ मा राजीव खत्री र शाेभा पाठकविरुद्ध उजुरी


काठमाडौं-  भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई उम्मेदवारविरुद्ध दाबी–विरोधका उजुरी दर्ता भएका छन्। उजुरी परेसँगै निर्वाचन अधिकृतको कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको छ।

निर्वाचन अधिकृत राधिका सुवालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका(शाेभा) पाठकविरुद्ध उजुरी परेको हो। नवीनकुमार महतले दुवै उम्मेदवारविरुद्ध छुट्टाछुट्टै कारण देखाउँदै उजुरी दर्ता गराएका हुन्।

खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु रकम बाँकी रहेको दाबी गरिएको छ। यस्तै, पाठकविरुद्ध नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा फरक विवरण देखिएको भन्दै उजुरी परेको निर्वाचन अधिकृत सुवालले जानकारी दिइन्।

उजुरी परेका दुवै उम्मेदवारको विषयमा भोलि छानबिन गरिने र सम्बन्धित पक्षलाई बोलाएर सोधपुछ गरिने उनले बताइन्। उजुरीकर्तासहित उम्मेदवारहरूलाई प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ।

उजुरीसम्बन्धी निष्कर्ष बिहीबार साँझ ५ बजेभित्र सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया