
माधव र रेशमको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी
काठमाडौं- आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारको योग्यतामाथि प्रश्न उठ्दै उजुरीहरू दर्ता हुन थालेका छन्।
कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा दाबी–विरोधको उजुरी परेको छ। सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भइसकेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने दाबी गर्दै उजुरी दर्ता गरिएको हो। निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरीमाथि भोलि बिहान १० बजे प्रमाण पेस गर्न सम्बन्धित पक्षलाई जानकारी गराइसकेको छ। उजुरीपछि चौधरीको उम्मेदवारी कायम रहने वा खारेज हुने विषयमा निर्वाचन अधिकृतको निर्णय कुर्नुपर्ने अवस्था बनेको छ।
यस्तै, रौतहट–१ मा उम्मेदवारी दर्ता गराएका नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी परेको छ। सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले नेपाल उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै उजुरी दिएका हुन्। उजुरीमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेपाल मुछिएको र उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकाले कानुनी रूपमा उम्मेदवार बन्न नमिल्ने उल्लेख गरिएको छ।
उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार नेपाल निलम्बनमा रहेको र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम उम्मेदवारी खारेज हुनुपर्ने माग गरिएको छ।



कागजपत्र |
