
दमकमा एमाले–रास्वपा कार्यकर्ताबीच सामान्य झडप, सुरक्षा सतर्कता बढाइयो
काठमाडौं- मंगलबार झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच सामान्य झडप भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका क्रममा दुई दलका समर्थक आमनेसामने भएपछि स्थिति तनावग्रस्त बनेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेको दमक क्षेत्रको गोल्चोक आसपास दुवै दलका कार्यकर्ताबीच सामान्य झडप भएको बताइएको छ । रास्वपाका समर्थकहरू बालेन शाहसँगै उम्मेदवारी दर्ता गर्न जाँदा उक्त क्षेत्रमा पुगेका थिए भने एमाले अध्यक्ष ओली केही समयपछि उम्मेदवारी दर्ता गर्न जाने कार्यक्रम रहेकाले एमालेका कार्यकर्ता पनि ठूलो संख्यामा जम्मा भएका थिए ।
दुवै पक्ष आमनेसामने भएपछि झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भई सामान्य झडपको रूप लिएको जनाइएको छ । केही समय तनाव बढेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए ।
इलाका प्रहरी कार्यालय दमकले हाल अवस्था नियन्त्रणमा रहेको जनाएको छ ।



कागजपत्र |
