
उदयपुरको सुनकोशीमा बस खस्याे
उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र भोजपुरको आम्चोक गाउँपालिका जोड्ने सुनकोशी नदीमा निजी क्षेत्रले सञ्चालन गरेको फेरीबाट यात्रुबाहक बस नदीमा खसेको छ।
स्थानीयका अनुसार दुर्घटना फेरीमार्फत बस तार्ने क्रममा भएको हो। सुनसरीको इटहरीबाट भोजपुरको बालंखातर्फ जाँदै गरेको यात्रुबाहक बस फेरीमा चढ्दा असन्तुलित भएर नदीमा डुबेको जनाइएको छ।
स्थानीयहरूले बताए अनुसार उक्त जोखिमपूर्ण फेरीमार्फत बस, बोलेरो, ट्र्याक्टरलगायतका सवारी साधन नियमित रूपमा पार गराइन्थ्यो। यात्रुहरू भने झोलुङ्गे पुल हुँदै पैदल पार भएर पुनः गाडीमा चढ्ने व्यवस्था थियो। यही कारण आजको दुर्घटनामा मानवीय क्षति नभएको जनाइएको छ।
चौदण्डीगढी–१ रानीटारका रत्न तामाङसहित केही स्थानीयहरूले करिब २५ लाख रुपैयाँ लगानीमा फेरी सञ्चालन गर्दै आएको भए पनि कुनै सरकारी अनुमति, नियमित अनुगमन र आवश्यक सुरक्षा मापदण्ड पालना गरिएको थिएन।



कागजपत्र |
