कांग्रेसमा संकट समाधानको प्रयास: पहिलो चरणको वार्ता निष्कर्षविहीन


काठमाडौं-  नेपाली कांग्रेसभित्र दोस्रो विशेष महाधिवेशन आह्वानपछि उत्पन्न विवाद समाधान गर्न गठित वार्ता टोलीको पहिलो चरणको छलफल सकिएको छ । सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा मंगलबार बिहान भएको वार्ता निष्कर्षविहीन भए पनि सहमतिका लागि दुवै पक्ष अधिकतम लचक रहनेमा सहमत भएका छन् ।

वार्तामा सहभागी एक नेताका अनुसार सहमतिको प्रयास सकारात्मक दिशामा अघि बढेको छ । ‘पहिलो चरणको वार्ता सकिएको छ । यहाँ उठेका विषयबस्तु आ–आफ्नो समूह र नेताहरूसँग छलफल गरेर धारणा तय गर्ने र फेरि बस्ने समझदारी भएको छ,’ ती नेताले भने, ‘सहमतिको ढोका बन्द भएको छैन, दुवै पक्ष अधिकतम प्रयास गर्न तयार देखिन्छन् ।’

वार्तामा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए भने शेखर कोइराला पक्षबाट बद्री पाण्डे र सहमहामन्त्री जीवन परियार सहभागी भएका थिए । त्यस्तै, विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी थिए ।

वार्ता चलिरहेकै समयमा भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहेको छ । यही वार्ताका कारण बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।

 

प्रतिक्रिया