सुनिल थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा


काठमाडौं- माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। यो परिणाम निर्वाचन अधिकृत कार्यालय, कोशी प्रदेशले औपचारिक रूपमा घोषणा गरेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला र अन्य गरी तीन सदस्यको लागि निर्वाचन हुन लागेको थियो। यस क्रममा थापा ‘अन्य’तर्फ निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले बताएअनुसार, अन्यतर्फ उम्मेदवारीका लागि तोकिएको समयमा केवल एक जना उम्मेदवार मात्र दर्ता भएको थियो। महिला र दलिततर्फ क्रमशः दुई-दुई जना उम्मेदवार रहेका छन्।

महिलातर्फ एमालेबाट रोश्नी मेचे र नेपाली कम्युनिष्ट पार्टीबाट नमिता न्यौपाने, दलित तर्फ एमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीबाट खेमराज नेपालीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्य ९३ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २७३ जना गरी कुल ३६६ मतदाता रहेका छन्। यद्यपि, एक जना स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया