
जसपा नेपाल–लोसपा एकीकरणमा १२ बुँदे सहमति, महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको एकीकरणलाई मूर्तरूप दिने क्रममा आइतबार १२ बुँदे सहमति भएको छ। सहमतिअनुसार महन्थ ठाकुर जसपा नेपालको संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहनेछन्।
सहमतिपत्र अनुसार राष्ट्रियसभामा मधेश प्रदेशबाट दलित, महिला र अल्पसंख्यक कलस्टरमा जसपा नेपालको तर्फबाट दिइएको उम्मेदवारी निष्क्रिय गरिनेछ। साथै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण गर्दा दुवै अध्यक्षको संयुक्त हस्ताक्षर हुने सहमति भएको छ।
एकीकृत पार्टीको नाम जसपा नेपाल र चुनाव चिन्ह छाता रहने सहमति भएको छ। पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिनेछ, जसले आफूभित्र ११ सदस्यीय सचिवालय बनाउनेछ। समिति गठन नभएसम्म केन्द्रीय समन्वय समितिले संगठन, सञ्चालन, निर्देशन तथा निर्णायक भूमिका निर्वाह गर्नेछ।



कागजपत्र |
