
मृत्यु भइसकेका व्यक्तिले मागे कांग्रेसको विशेष महाधिवेशन !
काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएका हस्ताक्षरमा मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको नामसमेत प्रयोग गरिएको तथ्य खुलेको छ। विशेष महाधिवेशन मागकर्ताहरूले सर्लाहीको हरिपूर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका महाधिवेशन प्रतिनिधि उपेन्द्र रामको हस्ताक्षर प्रयोग गरेको पाइएको हो।
तर उपेन्द्र रामको गत असोज २४ गते नै निधन भइसकेको उनका छोरा चन्दन रामले जानकारी दिएका छन्। चन्दनका अनुसार विशेष महाधिवेशनको मागमा आफ्नो बुबाको नामबाट हस्ताक्षर गरिएको विषयमा परिवार पूर्ण रूपमा अनभिज्ञ छ।
‘बुबाको गत असोज २४ गते निधन भएको हो,’ चन्दनले भने, ‘हिजो कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण सर आउनुभएको थियो। हामी विशेष महाधिवेशनको पक्षमा छैनौँ भनेर स्पष्ट भनेका थियौँ।’
उनले आफ्नो बुबाको हस्ताक्षर कसरी, कहिले र कसले प्रयोग गर्यो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए।
यस विषयलाई गम्भीर मान्दै उपेन्द्र रामको परिवारले बुबाको नाममा प्रयोग गरिएको हस्ताक्षर फिर्ता गरिएको व्यहोरा उल्लेख गरी बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गर्दै पत्र पठाएको छ।
चन्दनका अनुसार उनका बुबा लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध थिए। परिवारमा बुबा र आमा दुवै कांग्रेसका क्रियाशील सदस्य रहेको र उनीहरू सामान्य खेतीपाती गरेर जीवनयापन गर्दै आएको उनले बताए।



कागजपत्र |
