केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनुपर्छ : कोइराला


काठमाडौं –  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार बिहान पार्टी सचिवालयमा भेट्न पुगेका करिब ३० जना केन्द्रीय सदस्यसँगको छलफलमा उनले विशेष महाधिवेशन गर्ने सहमति बने पनि माघ ६ गतेपछि बोलाउँदा उपयुक्त हुने बताए ।

उनले हाल राष्ट्रियसभा र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार टुंग्याउने प्रक्रिया चलिरहेको उल्लेख गर्दै त्यसपछि मात्र विशेष महाधिवेशन बोलाउनु उचित हुने धारणा राखे । ‘अहिले राष्ट्रियसभा र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार टुंग्याउनु पर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि आह्वान गर्दा उपयुक्त हुन्छ।’

डा. कोइरालाका अनुसार त्यस समयसम्म राष्ट्रियसभा र प्रतिनिधिसभाको मनोनयनसम्बन्धी सम्पूर्ण प्रक्रिया सकिने भएकाले विशेष महाधिवेशन बोलाउँदा पार्टीभित्र एकताको सन्देश जानेछ । उनले सबै पक्षको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय गरेमा सबैलाई स्वीकार्य हुने र आफू त्यसका लागि पहलरत रहेको बताए ।

फरक प्रसंगमा डा. कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गर्न नहुने धारणा पनि राखे । गठबन्धनका कारण प्रत्यक्षतर्फ दुई–चार सिट बढे पनि समानुपातिक मत घट्ने र यसले पार्टीलाई दीर्घकालीन रूपमा नोक्सान पुर्‍याउने उनको तर्क थियो । आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने कुरामा आफू स्पष्ट रहेको उनले बताए ।

भेटमा केन्द्रीय सदस्यहरूको तर्फबाट पुष्पा भुसालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग छलफल अघि बढाइएको जानकारी दिइन् । उनले आफूहरू कुनै गुट वा पक्षको प्रतिनिधि नभई पार्टीभित्रको विवादले चिन्तित बनेर समाधानका लागि पहल गरिरहेको बताइन् । साथै, मध्यमार्गी बाटो खोज्न डा. कोइरालालाई आग्रह समेत गरिन् ।

छलफलमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रूपमा रूपान्तरण गर्दै आगामी निर्वाचनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका थिए । भेटमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया