
कांग्रेसमा विशेष महाधिवेशन माग्नेहरुले हस्ताक्षर फिर्ता लिँदै
काठमाडौं– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद तीव्र बन्दै गएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीसँग विशेष महाधिवेशनको विकल्प नभएको बताउँदै आएका छन् भने संस्थापनपक्षका नेताहरू प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन सम्भव नहुने तर्क राखिरहेका छन्।
पार्टीभित्र विवाद चर्किँदै जाँदा सुदूरपश्चिममा विशेष महाधिवेशनका पक्षधर नेताहरू धमाधम आफ्नो हस्ताक्षर फिर्ता लिँदै छन्। कैलालीका सात जना नेताहरूले लिखित रूपमा हस्ताक्षर फिर्ता गरेको जानकारी दिएका छन्।
कैलाली क्षेत्र नम्बर ५ की महाधिवेशन प्रतिनिधि रिता भण्डारीले देश निर्वाचनमा पार्टीलाई एकजुट राख्न आफ्नो हस्ताक्षर फिर्ता गरिएको बताइन्। विज्ञप्तिमा उनले भनिन्, “वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका आइसकेको र देशमा राजनीतिक परिवर्तनपछि आमनिर्वाचनको घोषणा भइसकेको छ। त्यसको तयारीका लागि एकजुट भई लाग्नुपर्ने जिम्मेवारी छ। त्यसैले मैले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता गरेकी छु।”
त्यस्तै, कैलाली क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि कर्णबहादुर चौधरी, दीपा बडायक, प्रेमबहादुर बिष्ट, शिवा थापा, बिसुदेवी बडुवाल र रंगबहादुर सुनारले पनि विशेष महाधिवेशनका लागि नभई नियमित महाधिवेशनको पक्षमा आफ्नो समर्थन रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनीहरूले विशेष महाधिवेशन प्रस्तावका लागि आफ्नो हस्ताक्षर दुरुपयोग भएको स्पष्ट पारेका छन्।
यसअघि सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतक विक्रमसिंह धामी र महाधिवेशन प्रतिनिधि गोकर्णबहादुर चन्दले पनि हस्ताक्षर दुरुपयोग भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। उनीहरूले भनेका छन्, “अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग भएकोमा विशेष महाधिवेशनका लागि कतै हस्ताक्षर नगरिएको व्यहोरा अनुरोध गर्दछौँ।”
सुदूरपश्चिम प्रदेशका लगभग ३० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको दाबी गरिएको छ।



कागजपत्र |
