
हायात रिजेन्सीकाे क्यासिनो लुटपाटः थप एक जना पक्राउ
काठमाडौं- बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनोमा भएको लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ स्थायी घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय दोर्जे शेर्पा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार शेर्पालाई पुस १४ गते कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनी भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा क्यासिनोमा भएको लुटपाटमा प्रत्यक्ष संलग्न रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले मंसिर १२ गते ‘सेठ्ठी’ भनेर चिनिने दावा शेर्पा र ‘रने’ भनेर चिनिने रञ्जित खड्गीलाई पक्राउ गरिसकेको छ। दुवै जनाको गुण्डागर्दी पृष्ठभूमि रहेको प्रहरीको भनाइ छ।
प्राइड इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित ‘क्यासिनो प्राइड’ मा दावा शेर्पाले टेबल सञ्चालन गर्दै आएका थिए। प्रदर्शनको अराजक अवस्थाको फाइदा उठाउँदै लुटेराहरूले क्यासिनोबाट नगद १४ करोड रुपैयाँ लुटेको दाबी क्यासिनो सञ्चालक पक्षले गरेको छ।
लुटपाटपछि अराजक समूहले क्यासिनोभित्र रहेका संरचनामा तोडफोड गर्नुका साथै आगजनी समेत गरेर फरार भएको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
