काठमाडौंबाट नक्कली हजारका नोटसहित ६ जना पक्राउ


काठमाडौं-  नक्कली नोटसहित कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरू प्रहरीको जालोमा परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–४ साँखु बस्ने तथा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे गाउँपालिका–२ घर भएका ३२ वर्षीय दावा नोर्बु शेर्पालगायत रहेका छन्। अन्य पक्राउ परेकाहरूको विवरण प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो। नक्कली नोट कहाँबाट ल्याइयो, कसरी वितरण हुँदै थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया