
सफारीमा आएका समूहले आक्रमण प्रयास गरेपछि गोली चलाइएको हो : सशस्त्र प्रहरी
काठमाडौं- सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको छ। घटना गएराति १ बजेर १० मिनेटतिर भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका दुई वटा सिटी सफारीमा सवार समूहसँग जम्काभेट भएपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यस क्रममा मुठभेटको अवस्था सिर्जना भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी बलको दाबी छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाले भन्सार छलेर सामान ल्याउँदै गरेका व्यक्तिहरूले गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण प्रयास गरेपछि जवाफी कारबाही स्वरूप गोली चलाइएको बताए। उनले भने, “दुई वटा सिटी सफारीमा आएका समूहले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण प्रयास गरेपछि जवाफी कारबाही गरिएको हो।”
घटनास्थलमा ४५ वर्षीय विजय साहले चलाएको एउटा सिटी सफारी मात्र फेला परेको छ। अर्को सिटी सफारी भने चालकले लिएर फरार भएको अधिकारीहरूले बताएका छन्। प्रारम्भिक विवरण अनुसार भारतबाट चिनी र अन्य किराना सामान लिएर नेपाल प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरीसँग जम्काभेट भएको दाबी गरिएको छ।
सशस्त्र प्रहरीका एक जना अधिकारीले सिटी सफारीमा सवार समूहले सुरुमा हवाई फायर गरेको जिकिर गरेका छन्। त्यसपछि स्थिति नियन्त्रण बाहिर जान सक्ने अवस्था देखिएपछि सशस्त्र प्रहरीको तर्फबाट गोली चलाइएको बताइएको छ।
गोली लागेर मृत्यु भएका साह सुनसरीको कोशी गाउँपालिका–१ का बासिन्दा हुन्। घटनापछि आक्रोशित स्थानीयबासीले मृतकको शव उठाउन अस्वीकार गरेका छन्। हाल साहको शव घटनास्थलमै राखिएको छ।
स्थानीयले घटनाको निष्पक्ष छानबिन र जिम्मेवार पक्षमाथि कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेका छन्। अवस्था तनावपूर्ण बनेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी र स्थानीयबासीबीच छलफल भइरहेको जनाइएको छ।



कागजपत्र |
