‘हनी ट्र्याप’मा पारेर हत्या गर्ने तीन जनालाई जन्मकैद


काभ्रेपलाञ्चोक-  ‘हनी ट्र्याप’मा पारेर काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको अपहरणपछि हत्या गरेको अभियोगमा संलग्न तीन जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ भने तीन जनाले सफाइ पाएका छन्।

घटनाका मुख्य अभियुक्त सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरीको गौशाला नगरपालिका–६ घर भई हाल भक्तपुरको कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैदको फैसला गरिएको हो।

सोमबार काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनीहरूलाई जन्मकैद सजाय सुनाएको अदालतका स्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।

कार्कीका अनुसार रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले भने अदालतबाट सफाइ पाएका छन्।

अदालतले जन्मकैद सजाय पाएकाहरूबाट पीडित परिवारलाई क्षतिपूर्ति स्वरूप जनही २–२ लाख रुपैयाँ भराउन आदेश दिएको छ। साथै, उनीहरूबाट जनही २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउन पनि आदेश गरिएको छ।

यस प्रकरणमा मतियारको रूपमा मुद्दा चलाइएका काठमाडौंको शंकरापुर नगरपालिका–५ का सरिन घिमिरेलाई अदालतले दोषी ठहर गरेको छ। उनको सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ। घटनामा संलग्न भनिएका अंशु खान र शिवम सिंह राजपुत भने अझै फरार रहेका छन्।

कीर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका विनोद खड्गीलाई उक्त समूहले २०८१ असोज ५ गते राति अपहरण गरी फिरौती रकम असुल गरेपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर ठिमीमा बस्दै आएकी २१ वर्षीया मनिषा महतले भारतीय र नेपाली नागरिकसँग मिलेर योजनाबद्ध रूपमा विनोदको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको थियो।

 

प्रतिक्रिया