आफ्नो अस्तित्व मासेर पार्टी एक हुने कुरा स्वीकार्य हुँदैन : कुलमान घिसिङ


पोखरा- उज्यालो पार्टी नेपालका संरक्षक तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आफ्नो पार्टीको अस्तित्व समाप्त हुने गरी कुनै पनि राजनीतिक एकतामा सहभागी हुन नसक्ने स्पष्ट पारेका छन्। उनले रवि लामिछाने र बालेन शाहसँगको राजनीतिक एकतामा आफू किन उभिन नसकेको भन्ने विषयमा पहिलोपटक सार्वजनिक रूपमा धारणा राखेका हुन्।

पोखरामा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मन्त्री घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल संरचना र उसकै चुनाव चिह्न स्वीकारेर अघि बढ्दा उज्यालो पार्टी नेपालको पहिचान नै समाप्त हुने तर्क गरे। “आफ्नो अस्तित्व मासेर पार्टी एक हुने कुरा स्वीकार्य हुँदैन,” घिसिङले भने।

उनका अनुसार रास्वपाको दल संरचना र चुनाव चिह्नमा समाहित भएर जाने प्रस्तावले उज्यालो पार्टी नेपालको राजनीतिक पहिचान र वैचारिक अस्तित्व संकटमा पर्ने भएकाले सो मोडलमा सहमति हुन नसकेको हो।

यसअघि बालेन शाह र कुलमान घिसिङबीच पटक–पटक भेटवार्ता हुँदै आएको थियो। दुवै पक्षले एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्दै आएका थिए।

तर पछिल्लो राजनीतिक घटनाक्रममा रवि लामिछाने र बालेन शाहबीच सहकार्य र एकता अगाडि बढ्दा कुलमान घिसिङ भने त्यसबाट अलग भएका छन्।

 

प्रतिक्रिया