सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनाका सबै रिट एकसाथ सुनुवाइ गर्ने


काठमाडौं– प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर सबै रिट अब सर्वोच्च अदालतमा एकसाथ सुनुवाइ हुने भएको छ। कांग्रेस, एमाले र अन्य दलका निवर्तमान सांसदहरूले दायर गरेका रिटहरूलाई संयुक्त रूपमा राखेर सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको पूर्ण संवैधानिक इजलासले सबै रिटलाई एकसाथ सुनुवाइ गर्न आदेश दिएको हो।

कांग्रेसका ५७ सांसद, जनता समाजवादी पार्टीका हसिना खातुन, गोमालाभ सापकोटा, स्वतन्त्र सांसद योगेन्द्र मण्डल लगायतले मंगलबार पूरक रिट दायर गरेका छन्। यसअघि कांग्रेसका ८ सांसद र नेकपा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाका लागि रिट दायर गरिसकेका थिए।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्री नियुक्त गरेपछि उनले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्दै ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट दिएका छन् भने निर्वाचन आयोगले फागुन २१ गते चुनाव मिति घोषणा गरेको छ।

प्रतिक्रिया