
प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२, दुहवीस्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र तत्कालीन लेखापाल अरूणकुमार कुशियैतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले आर्थिक वर्ष २०७८/७९ मा आईटी ल्याब स्थापना तथा २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत डिजिटल लाइब्रेरी सुदृढीकरणका लागि छुट्याइएको रकम हिनामिनाको आरोपमा आज अदालतमा आरोपपत्र बुझाएको हो। प्रत्येक प्रतिवादीमाथि रु आठ लाख ६२ हजार १५२ बराबरको बिगो रकमसहित मुद्दा दायर गरिएको छ।
अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आव २०७८-७९ को आईटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको ८७ हजार ५०० बराबरको प्रोजेक्टर तथा आव २०७९-८० मा खरिद गरिएको एक करोड २४ लाख ६ सय ५२ बराबरको स्कूल सफ्टवेयर र स्ट्यान्ड विद्यालयको अभिलेखमा नदेखिएको पाइएपछि सजायको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।”
प्रधानाध्यापक ठाकुर र लेखापाल कुशियैतले आपसी मिलेमतो र योजनामा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना तथा दुरुपयोग गरेका छन्। उनीहरू माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजायको मागसहित आरोपपत्र दायर गरिएको छ।



कागजपत्र |
