
‘ओली फुटबलको पेले’ भन्ने नेता पोखरेल क्याम्पमा !
काठमाडौं- कुनै समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘फुटबलको पेले’ भन्दै खुलेर प्रशंसा गर्ने नेता कृष्णगोपाल श्रेष्ठ अहिले भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहमा खुलेका छन् । पार्टीको ११औँ महाधिवेशनमा उनी पोखरेल समूहबाट सचिव पदका उम्मेदवार बन्ने भएका छन् ।
१०औँ महाधिवेशनबाट एमाले स्थायी कमिटी सदस्यमा निर्वाचित भएका श्रेष्ठले यसपटक नेतृत्व समीकरणमा फरक धार समातेका हुन् । ओलीसँग लामो समय नजिक मानिएका श्रेष्ठको यो कदमलाई एमालेभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।
२०७८ सालमा शिक्षामन्त्री रहेका बेला श्रेष्ठले केपी ओलीलाई विश्व फुटबलका महान खेलाडी पेलेसँग तुलना गर्दै दिएको अभिव्यक्ति निकै चर्चित बनेको थियो । त्रिवि दीक्षान्त समारोहमा उनले ओलीलाई शक्तिशाली नेताका रूपमा चित्रण गर्दै भनेका थिए, “केपी ओली इज द केपी ओली । फुटबलको पेलेजस्तै हो । कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ?”
तर समयसँगै राजनीतिक समीकरण फेरिएको छ । ओलीको खुलेर प्रशंसा गर्ने श्रेष्ठ अहिले भने पोखरेल समूहको पंक्तिमा उभिएका छन् ।



कागजपत्र |
