
काठमाडौंको जाम हटाउन बन्द भयो अन्तर-प्रदेश रुट परमिट
काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र अस्तव्यस्ततालाई मध्यनजर गर्दै अन्तर–प्रदेश रुट परमिट पूर्ण रूपमा बन्द गरिएको छ। यातायात व्यवस्था विभागले प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूबाट जारी हुँदै आएको अन्तर–प्रदेश बाटो इजाजतमा रोक लगाउने निर्णय गरेको हो।
नयाँ निर्णयअनुसार अब प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयहरूले आफ्नो प्रदेशभित्र मात्रै सार्वजनिक सवारी साधनको रुट परमिट जारी गर्न पाउने छन्। यसअघि केही प्रदेशका कार्यालयहरूले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पनि अन्तर–प्रदेश रुट परमिट जारी गर्दै आएका थिए।
यातायात व्यवस्था विभागका अनुसार अन्तर–प्रदेश जाँच पास तथा रुट इजाजत पत्र जारी गर्ने अधिकार अब पूर्ण रूपमा संघीय सरकारको क्षेत्राधिकारभित्र रहनेछ। अन्तर–प्रदेश बाटो इजाजत आवश्यक परेमा विभाग अन्तर्गतका सवारी परीक्षण कार्यालयहरूले मात्र जारी गर्ने व्यवस्था गरिएको छ।
विभागले यससम्बन्धी निर्णय कार्यान्वयन गर्न सबै प्रदेशका यातायात मन्त्रालयलाई परिपत्र गरिसकेको छ। यसअघि जारी भएका अन्तर–प्रदेश रुट परमिटहरू पनि तत्काल सच्याउन निर्देशन दिइएको छ।
यता, काठमाडौँ उपत्यकाको ट्राफिक सहज बनाउन बाहिरबाट उपत्यका प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि नयाँ रुट पनि तोकिएको छ। नयाँ नियमअनुसार उपत्यका बाहिरबाट आउने सवारी साधनहरू कलंकी–सिटापाइला हुँदै बसपार्कसम्म मात्र आउन–जान पाउनेछन्।
त्यस्तै, काठमाडौँ उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि भने छुट्टै रुट तोकिएको छ। यस्ता सवारी साधनले कलंकी–सातदोबाटो–कोटेश्वर हुँदै बनेपासम्म आउन–जान पाउने व्यवस्था गरिएको छ।



कागजपत्र |
