तीन पार्टी बैठकः आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव, जसपा अनिर्णित


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अविश्वासको प्रस्ताव गर्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि नेपाली कांग्रेसले तीन पार्टीको बैठकमा प्रस्ताव गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्र, जनता सामाजवादी पार्टीका नेताबीच यस्तो प्रस्ताव गरिएको थियो।

पहिलो पटक कांग्रेसले गरेको उक्त प्रस्तावमा माओवादी केन्द्र सकारात्मक भए पनि जसपाले भने आन्तरिक छलफलका लागि केही दिन समय माग गरेको छ। आफ्ना राजनीतिक मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली सरकारात्मक रहेको तर कांग्रेसबाट पनि प्रस्ताव आएका कारण समय माग गरिएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पहिलो चरणको वार्ता सकारात्मक रहेको र जसपाले समय माग गरेका कारण केही दिनमा अर्को चरणको छलफल हुने बताए।

तीन पार्टीको बैठकमा सभापति देउवाले प्रधानमन्त्री ओलीले राज्यका सबै निकाय नियन्त्रणमा लिएर सर्वसत्तावाद लागू गर्न लागेको तर चुनावमा जानका लागि अर्को सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको श्रेष्ठको भनाई थियो।

प्रतिक्रिया