
महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै कैलालीमा प्रदर्शन
कैलाली– कैलालीमा बुधबार एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेनजी युवामाथि युवा संघका कार्यकर्ताले गरेको आक्रमणको विरोधमा जिल्लाका विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ। धनगढी र लम्की लगायतका क्षेत्रमा प्रदर्शन भएकाे हाे।
लम्की चोकमा प्रदर्शनकारीहरूले टायर बालेर विरोध जनाएका थिए भने धनगढीमा जिल्ला प्रशासन कार्यालयअगाडि शान्तिपूर्ण प्रदर्शन भएको थियो।
बुधबार धनगढीमा एमाले नेता बस्नेत उपस्थित हुँदा प्लेकार्ड बोकेर विरोधमा उभिएका जेन–जीमाथि युवा संघका कार्यकर्ताले हातपात गरेका थिए। घटनामा जेन–जी अगुवा सरिता जोशीको हात भाँचिएको थियो।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गरिएको जानकारी दिए। उनले भने, “जेन–जीहरूले आफूहरूमाथि आक्रमण भएको बताउँदै दोषीलाई पक्राउ गर्न माग गरेका छन्। हामीले अनुसन्धान गरी कारबाही गर्ने छौं।”
युवाहरूले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने र शान्तिपूर्ण आन्दोलनमा भएको दमनको छानबिन गर्न प्रशासनलाई दबाब दिने चेतावनी दिएका छन्।



कागजपत्र |
