कैलालीमा समाजवादीको बहुमत कमिटी नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’मा नजाने


काठमाडाैं- एकीकृत समाजवादी पार्टी कैलालीका अध्यक्ष, सचिवसहित बहुमत जिल्ला कमिटी सदस्यहरू नेपाली कम्युनिस्ट पार्टीमा सामेल नहुने भएका छन्। अध्यक्ष विमल जोशी, सचिव दीर्घ जोशी र उपसचिव प्रेमलाल चौधरीसहित जिल्ला कमिटीका अधिकांश पदाधिकारी तथा सदस्यहरूले नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश नगर्ने स्पष्ट गरेका हुन्।

एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटी १२१ सदस्यीय छ। ती पदाधिकारीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली रहेको नयाँ पार्टीमा जाने पक्षमा छैनन्। तर उनीहरूकै शीर्ष नेता माधवकुमार नेपाल भने सो पार्टीमा प्रचण्डसँगै सह–संयोजकका रूपमा सामेल भइसकेका छन्।

अध्यक्ष जोशी, सचिव जोशी र उपसचिव चौधरीले संयुक्त वक्तव्य जारी गर्दै हाल भएको ‘कम्युनिस्ट एकता’ ले आन्दोलनको बदनाम मात्र भएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा माओवादी, एकीकृत समाजवादीसहित दर्जनभन्दा धेरै दलहरूबीच भएको भनिएको एकता कुनै पनि पक्षबाट ‘संगठित रूपमा भएको वास्तविक एकता’ नभएर व्यक्तिगत स्वार्थमा आधारित छ।

विज्ञप्तिमा भनिएको छ, “जिल्ला कमिटी बैठकले पार्टी एकता विषयमा गम्भीर छलफल गरेको छ। अहिलेको एकतामा १० दल, पछि १२ र अहिले १३ दलको हवाला दिइन्छ। तर वास्तवमा कुनै पनि पार्टी संग्लो रूपमा सहभागी छैनन्। आधारभूत संगठन नै नभएका पार्टीहरूलाई समेटेर गरिएको यस्तो एकताले कम्युनिस्ट आन्दोलनमा योगदान होइन, क्षति पुर्‍याउनेछ। यो कम्युनिस्ट सिद्धान्तमा आधारित एकता होइन, नेताहरूले व्यक्तिगत स्वार्थसिद्धिका लागि गरेको कदम हो।”

विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि कम्युनिस्ट आन्दोलनलाई बिसर्जनतर्फ लगिरहेको आरोप लगाइएको छ।

“नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी कैलालीले कम्युनिस्ट विरोधी एकतामा सहभागी नहुने निर्णय गरिसकेको छ,” अध्यक्ष जोशीले भने, “हामीले सम्पूर्ण सदस्यलाई नयाँ पुनर्गठनतर्फ उन्मुख हुन अनुरोध गरेका छौँ।”

यसैबीच भोलि धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकतासभा हुँदैछ। सभालाई सम्बोधन गर्न नेकपा संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल आउने कार्यक्रम छ। तर सभाको पूर्वसन्ध्यामा नै एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटीले एकतामा सहभागी नहुने निर्णय सार्वजनिक गरेपछि राजनीतिक भूमिस्वरूपमा नयाँ चासो बढेको छ।

प्रतिक्रिया