रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित


बुटवल  – सहकारीमा बचतकर्ताको रकम अपचलन तथा संगठित अपराध आरोपमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ।

उच्च अदालत तुलसीपुर इजलास बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेका कानून व्यवसायी महेन्द्र पाण्डे अस्वस्थ भएकाले सुनुवाइ स्थगित गर्न माग गरिएको र सोही कारण पेशी सारिएको हो।

रवि र छविको मुद्दा हरेक बिहीबार सुनुवाइका लागि तोकिँदै आएको थियो। तर आउने बिहीबार सार्वजनिक बिदा परेकोले अर्को सुनुवाइ अब दुई सातापछि मात्र हुने अदालतले जनाएको छ।

रास्वपा सभापति लामिछानेले आफूले सहकारीमा अपचलन गरेको दाबी गरिएको रकम (बिगो) दाखिला गरी सहकारी ठगीको मुद्दाबाट छुटकारा पाउन माग गर्दै निवेदन दिएका थिए।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो रकम तिर्न तयार रहेको भन्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए। तर जिल्ला अदालतले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनः निवेदन दर्ता गराएका थिए।

यसअघि लामिछाने र जोशीको मुद्दाको प्रकृति एउटै भएकाले दुवै मुद्दा एकैसाथ राखेर विचार गर्न अदालतले आदेश दिएको थियो। सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगीसम्बन्धी मुद्दामा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।

जेन–जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशीका मुद्दा सम्बन्धी फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ।

प्रतिक्रिया