
एनपिएलका कारण कीर्तिपुरका रेस्टुरेन्टमा चहलपहल बढ्याे
काठमाडाैं- कीर्तिपुरको उमामहेश्वरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरूको चहलपहल पहिलेभन्दा निकै बाक्लो भएको छ।
पहिले दिनमा मानिसहरूको सामान्य चहलपहल हुने गरेको भए पनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याई भएको छ। यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपिएल)।
यही मंसिर १ गतेदेखि क्रिकेटको महाकुम्भ अर्थात् एनपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ। जहाँ हजारौं दर्शक क्रिकेटको साक्षी बन्न पुग्न थालेका छन्। एनपिएलका लागि जाने दर्शकहरू कीर्तिपुरबासीका लागि आर्थिक आर्जनको माध्यम बनेका छन्।
खास गरी मौलिक नेवारी खाना, कृषि उपज र हस्तकला सामग्रीको बजारीकरणका लागि एनपिएल सहयोगी बनेको उनीहरूको बुझाइ छ। कीर्तिपुरको प्रसिद्ध लहना नेवारी रेस्टुरेन्टमा पनि ग्राहकको भीड बढेको सञ्चालक राजमान महर्जनले बताए।
‘पोहोर साल हरेक दिन जस्तो जित्ने टोलीका समर्थकहरूले रेस्टुरेन्ट भरिएको हुन्थ्यो, यसपाली पनि संख्या बढ्दो छ’, उनले भने। कीर्तिपुरमा रहेका ८० वटा रेस्टुरेन्टमध्ये अधिकांशमा नेवारी परिकार पाइन्छ।
रेस्टुरेन्टहरूले पनि ग्राहक बढाउनका लागि ठूलो स्क्रिनमा खेल देखाउन थालेका छन्। ससः नेवारी रेस्टुरेन्टका प्रवन्धक रिजन महर्जन एनपिएल कीर्तिपुरको व्यवसाय बढाउने माध्यम भएको बताए।
‘हामीले बिक्री गर्ने परिकारमा सकेसम्म स्थानीय उत्पादन नै प्रयोग गर्छौं, परिकारसँगै हामीले पराल र मकैको खोस्टाबाट बनेका हस्तकलाका सामग्री पनि प्रदर्शनीका लागि राखेका छौं’, उनले भने। उक्त रेस्टुरेन्टले एनपिएल अवधिभर खानामा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ।



कागजपत्र |
