
आफूमाथि आक्रमण प्रयासपछि के भन्छन् महेश बस्नेत ?
काठमाडाैं – नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई लक्षित गरेर भएको मसी प्रहार प्रयासपछि जेनजीको नाममा देशभर अराजकता फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन्। आइतबार विराटनगर विमानस्थल नजिक उनले चढेको गाडीमा दुई युवाले रातो मसी छ्याप्न खोजेपछि बस्नेतले घटना वास्तविक जेनजी आन्दोलनसँग नजोडिन आग्रह गरे।
उनका अनुसार ती दुई युवाले मसीको भाँडामा ढुंगा हालेर हान्न खोजेका थिए र प्रहरी तत्काल नियन्त्रणमा लिन सफल भयो। ‘हाम्रा युवा पनि उत्तेजित भइरहेका थिए, प्रतिकार गर्न खोज्दै थिए, तर हामीले रोक्यौँ,’ उनले भने, ‘जेनजीको आडमा अराजकता फैलाउने काम भइरहेको छ, ओरिजिनल जेनजीको यसमा कुनै भूमिका छैन।’
बस्नेतले लोकतान्त्रिक अभ्यासलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै सरकार पनि लोकतान्त्रिक प्रक्रियाको रक्षा गर्न जिम्मेवार रहेको टिप्पणी गरे। आजको घटनामा प्रहरीले राम्रो भूमिका खेलेको र आवश्यक सहजीकरण गरेको उनको भनाइ छ।
‘लेखेर, बोलेर विरोध गर, फेसबुकमा तल्लो स्तरका टिप्पणीहरू भइरहेका छन्, हामीले सहिरहेका छौँ,’ उनले भने, ‘तर मसीमा ढुंगा राखेर फ्याँक्ने, गतिविधि अवरोध गर्ने काम स्वीकार्य हुँदैन। सभा–सम्मेलन गर्ने र देशभर हिँड्डुल गर्ने अधिकार सबैलाई छ।’
बस्नेत राष्ट्रिय युवा संघको प्रदेशस्तरीय जागरण सभामा सहभागी हुन इटहरी जाँदै थिए। विमानस्थलबाट बाहिरिएर कार्यक्रम स्थलतर्फ जाँदै गर्दा उनीमाथि मसी छ्याप्ने प्रयास भएको थियो।



कागजपत्र |
