
प्रसाईं पक्राउविरूद्धमा नागरिक बचाउ दल, देशव्यापी आन्दोलन गर्ने घोषणा
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यराति प्रहरीले पक्राउ गरेपछि नागरिक बचाउ दलले आजदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।
सरकारको कदमलाई अपहरण शैलीको गिरफ्तारी भन्दै दलले त्यसविरुद्ध तत्काल प्रतिवादमा उत्रिनुपर्ने अवस्था आएको ठहर गरेको छ ।
पार्टीले मंसिर ७ गतेका लागि तय गरिएको प्रदर्शन अघि नै आन्दोलनको सुरुआत गर्दै सरकारले शान्ति भंग गरेको आरोप लगाएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो। हिंसात्मक आन्दोलन तथा विवादास्पद अभिव्यक्तिका कारण उनी पहिलेदेखि नै निगरानीमा थिए।
गत चैत १५ मा हिंसा भड्किएको आरोपमा पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए। पछिल्लो समय उनी राजावादी गतिविधि, बैंक ऋण मिनाहा लगायतका माग राख्दै ७ मंसिरदेखि आन्दोलन गर्ने तयारीमा थिए। साईंलाई यसपटक पनि हिंसा उक्साउने अभिव्यक्ति दिएको आधारमा नियन्त्रणमा लिइएको हो ।



कागजपत्र |
