
एनपीएल ‘डिशहोम गो एप’मा प्रत्यक्ष प्रसारण हुने
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन अब ओटीटी प्लेटफर्म डिशहोम गो एपमार्फत प्रसारण हुने भएको छ।
बिहीबार क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले डिशहोम गो एपलाई एनपीएलको डिजिटल ओटीटी स्ट्रिम पार्टनर बनाएको घोषणा गरेको हो। क्यानले ४ नोभेम्बरमा भारतबाहेक सबै देशमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्ममार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्न टेन्डर खोलेको थियो, जसमा डिशहोम गो एपलाई छनोट गरिएको हो।
अब भारतबाहेकका देशमा प्रयोगकर्ताले शुल्क तिरेर एनपीएलको दोस्रो सिजन प्रत्यक्ष हेर्न सक्ने छन्। तर शुल्क कति लाग्ने भन्ने जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन।
टेलिभिजनमा भने अहिले स्टार स्पोर्ट्सले प्रसारण गर्ने टुङ्गो लागिसकेको छ भने एउटा नेपाली च्यानलले पनि शनिबारदेखि प्रसारण सुरु गर्ने तयारी गरेको छ।



कागजपत्र |
