
सुनचाँदीका गहना लुट्न एक महिलाद्वारा अर्की महिलाको हत्या
जनकपुर – धनुषामा एक महिलाले सुनचाँदीका गहना लुट्ने उद्देश्यले अर्की महिलाको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–७ की ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी गहना लुटपाट गरेको आरोपमा सोही ठाउँकी ४५ वर्षीया पवित्री देवी मण्डललाई पक्राउ गरिएको हो ।
प्रहरीले मण्डलको साथबाट दासका गहना बरामद गरेको छ । साथै, हत्या गर्न प्रयोग गरिएको हतियार पनि प्रहरीले फेला पारेको जनाएको छ ।
गत सोमबार राति करिब ९ बजे दासको शव उनको घरदेखि करिब ५०० मिटर टाढा फेला परेको थियो । घटनापछि धनुषा प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदै पवित्रीलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले पक्राउ परेकी मण्डलविरुद्ध जिल्ला अदालत धनुषाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।



कागजपत्र |
