
कता जालान् प्रेम आले ?
काठमाडाैं- एकीकृत समाजवादीका नेता प्रेम आलेको आगामी राजनीतिक यात्राबारेकाे चर्चा तीव्र बनेको छ। एकीकृत समाजवादी विभाजनपछि उनी न एमालेतिर उभिएका छन्, न त एकीकृतपछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा खुलेरै अघि बढेका छन्।
आलेलाई दुवै वरिष्ठ नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ–आफ्नो पार्टीमा आउने प्रस्तावसहित टेलिफोन गरेका थिए। तर, दुवै जनालाई आफूले अहिले निर्णय गर्न बाँकी रहेको प्रत्युत्तर उनले दिएका छन्।
आफ्नो आगामी राजनीतिक दिशाबारे कुरा गर्दै आलेले केही समयपछि मात्र टुंगो लाग्ने बताए। “अहिले म प्रोस्टेटको शल्यक्रियापछि आराममा छु,” उनले भने, “अहिले कुनै दिशातिर लागेको छैन। पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन माग गर्दै मुद्दा उठाएको छु, त्यसको कारबाही प्रतिक्षामा छु।”
आलेले एमालेमा जाने सम्भावना नरहेको स्पष्ट गरे। “एमाले जाने भए त पहिले नै गइहाल्थेँ नि,” उनले भने। यता, उनी नेपाली कांग्रेसतिर लाग्ने चर्चा पनि छ। तर यसबारे पनि अहिले केही भन्न नसक्ने बताए।
आले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट विजयी भएका नेता हुन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंस्थित उनको निवासमा आगजनी भएको थियो। त्यसपछि उनी धनगढीमा बस्दै आएका छन्।



कागजपत्र |
