चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा शेखर


काठमाडाैं-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी आम निर्वाचनअघि नै पार्टी महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा उभिएका छन्। शुक्रबार कांग्रेसका जिल्ला सभापति तथा पूर्वसभापतिहरूसँगको छलफलमा उनले २०८२ मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा पुनः स्पष्ट गर्दै समय अभावका कारण मंसिरमा नसके पुस मसान्तसम्म अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताए।

उनका अनुसार २०८२ पुस मसान्तसम्मको तालिका निर्वाचन आयोगको मापदण्ड र समयसूचीसँग नबाझिने गरी तय गर्नुपर्नेछ। उनले भने, ‘आउँदो आम निर्वाचनअघि महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वसहित चुनावमा जानुपर्छ।’

कोइरालाले पार्टी अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार र संयम भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले विगतका आरोह–अवरोहबाट पाठ सिक्दै पार्टी एकतामा जोड दिए।
‘एकता नै बल हो भन्ने भावनाअनुसार एक हुनैपर्छ। कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुँदैन,’ उनले भने, ‘पार्टीमा मेलमिलाप, गुट–उपगुट र फुटको अन्त्य चाहन्छु।’

जारी केन्द्रीय समितिको बैठकमा पनि शेखर समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन्। कांग्रेसमा निर्वाचनअघि वा पछि महाधिवेशन गर्ने विषयमा चर्को बहस चलिरहेको छ।

 

प्रतिक्रिया