
वीरगञ्जबाट ३ महिनामा भित्रिए झण्डै ९ अर्बका गाडी
वीरगञ्ज – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवै वृद्धि भएको जानकारी दिए।
गत आवको तीन महिनामा भने ६ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए। गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो।
चालु आवको तीन महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार ९३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ। ती ‘अनएसेम्बल्ड’ मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ।
त्यस्तै गत आवको तीन महिनाको अवधिमा भने दुई अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार ४८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो। चालु आवको तीन महिनामा ६२ करोड २४ लाख मूल्य पर्ने ३३० जीप, कार र भ्यानको आयात भएको छ।
ती सवारीसाधनको आयातबाट एक अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ। गत आवको तीन महिनाको अवधिमा भने ७६ करोड ५८ लाख मूल्य पर्ने ४३२ जीप, कार र भ्यानको आयात भएको थियो। सो आवमा ती सवारीसाधनको आयातबाट भने एक अर्ब ९६ करोड राजस्व सङ्कलन भएको थियो।
चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको छ।
गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो। सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो।



कागजपत्र |
