
भक्तपुर बाल सुधार गृहबाट २० बन्दी फरार, १५ पक्राउ
भक्तपुर- भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन्। आज दिउँसो सुधार गृहको मुख्य ढोका फोडी उनीहरू समूहगत रूपमा भागेका हुन्।
प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाका अनुसार फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न स्थानबाट पुनः पक्राउ गरिएको छ। बाँकी पाँच जनाको खोजी तीव्र पारिएको उनले बताए।
ढुंगानाका अनुसार आज साँझसम्म बाँकी सबै फरार बन्दीलाई नियन्त्रणमा लिनेगरी खोजी कार्य जारी छ।
स्रोतका अनुसार सुधार गृहमा अहिले क्षमताभन्दा दोब्बर बन्दीहरू राखिएका छन्, जसका कारण लगातार असन्तुष्टि, झडप र तोडफोड भइरहेका छन्। बाल सुधार गृहको नाममा युवाहरू समेत बन्दीका रूपमा राखिँदै आएको र सोही कारण तनाव बढ्दै गएको बताइन्छ।
घटनापछि सुधार गृहको सुरक्षा व्यवस्था कडा पारिएको र प्रहरीले थप बल प्रयोग गरेर निगरानी बढाएको छ।



कागजपत्र |
