पहिरोले कागबेनी-कोरला सडक अवरूद्ध


मुस्ताङ- मुस्ताङस्थित कागबेनी–कोरला सडकअन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो ।

कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए । उनका अनुसार ती स्थानमा सडक संरचनासहित वर्षाले सञ्चार सेवासमेत प्रभावित बनेको छ । कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र– ३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौँ स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।

राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–ताङ्वे सडकखण्डमा चार स्थानभन्दा बढी सडक अवरुद्ध छ ।

त्यसैगरी, कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा विभिन्न स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताइएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ ।

यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा करिब ३५ मिटर बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनले उक्त सडकमा पर्खाल निर्माण गरी फिलिङ गरिएकामा पहिरोका कारण सडक भासिएर क्षति भएको बताए ।

 

प्रतिक्रिया